नेपालमा वन व्यवस्थापनको कार्य वि.सं. १९९९ सालदेखि सुरु भएको पाइन्छ । सर्वप्रथम, (आश्विन २०१६) काठमहल अड्डाको स्थापना गरी त्यस अन्तर्गत तीन सर्कल र १२ वन जाँच अड्डा हुँदै विभिन्न सर्कल, डिभिजन, सि.सि.एफ. कार्यालय तथा प्रधान वन कार्यालयको नाममा वनको संरक्षण तथा व्यवस्थापन भएको पाईन्छ । वि.सं. २०४० सालमा आएर विकेन्द्रिकरण प्रक्रियासँग मेल खानेगरी पाँचवटा क्षेत्रीय वन निर्देशनालय र आ.व. २०४३।२०४४ सम्मा राज्यका ७५ वटै जिल्लाहरुमा जिल्ला वन कार्यालयहरु (पछि वि.सं. २०५० सालमा मुस्ताङ जिल्लाबाट हटाइए पछि ७४ जि.व.का. कायम रहेको) स्थापना गरिए । त्यस क्रममा काठमाण्डौ जिल्लाको वन सम्पदाको वैज्ञानिक व्यवस्थापन , वनको सीमांकन, नियन्त्रण र संरक्षण गर्दै वातावरणीय सन्तुलनलाई समेत कायम राख्दै वन सम्पदाको उचित प्रयोग गरी वनजन्य श्रोतलाई पुनः सिर्जना हुन दिने प्रक्रिया अपनाउने, वैज्ञानिक तथा आर्थिक दृष्टिकोणलाई बढी महत्वपूर्ण हुने वन्यजन्तु र वनस्पतिको लेखाजोखा गरी दिगो व्यवस्थापन गर्ने र सर्वसाधारणलाई आवश्यक पर्ने काठ, दाउरा, डालेघाँस, जडीबुटी तथा अन्य वन पैदावारको न्यायोचित रुपमा वितरण गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय काठमाण्डौ स्थापना भएको पाइन्छ ।